पूर्व अर्थमन्त्री विष्णु पौडेलको चुनावी संकल्प आर्थिक विकास, भौतिक पूर्वाधार र रोजगारीलाई प्राथमिकता

Butwal Today Gita Parajuli
3 weeks अगाडि

बुटवल, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, विद्युतिकरण, खानेपानी र सामाजिक विकासलाई प्राथमिकता दिदै नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही २ का उमेदवार विष्णुप्रसाद पौडेलले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

बुटवलमा शुक्रबार पत्रकार सम्मेलन गर्दै पौडेलले प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको हो । पौडेलले विकास, समृद्धि, सामाजिक न्याय र समाजवादको पक्षमा काम गर्न भन्दै २० बुँदामा प्रतिवद्धता उल्लेख गर्नुभएको छ । गुणस्तरीय शिक्षा र स्वास्थ्यको विकास गरी बुटवलबाट अन्यत्र जानु नपर्ने व्यवस्था गर्ने पौडेलको चुनावी प्रतिवद्धता छ । जनसंख्या र विकासका दृष्टिले देशकै अग्रणी बुटवललाई आसपासका स्थानिय तह जोडेर महानगरपालिका बनाउने योजना प्रतिवद्धता पत्रमा उल्लेख छ ।

पूर्व अर्थमन्त्री समेत रहेका पौडेलको प्रतिवद्धता पत्रमा भौतिक पूर्वाधारतर्फ सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डलाई द्रूत मार्गमा स्तरोन्नति गर्ने, सिद्धबाबामा निर्माणाधीनसुरुङ मार्ग, बुटवल–गोरुसिङ्गे, बुटवल–नारायणघाट स्तरोन्नति तथा बेलवास बेथरी सडक सम्पन्न गर्ने योजनालाई प्राथमिकता दिइएको छ ।

उद्योगहरू सञ्चालनका लागि सहुलियत कर्जा, सूचना प्रविधि सेवा निर्याते आयमा कर छुटको व्यवस्था, सूचना प्रविधिमा आधारित रोजगारीको विकास गर्ने पढ्दै काम गर्दै गर्ने व्यवस्था गर्ने प्रतिवद्धतामा उल्लेख छ । बसोबास तथा भोगचलन भइरहेको क्षेत्रलाई छुट्याएर मोतीपुर औद्योगिक क्षेत्रको पुनः रेखाङ्कन गर्ने र रेखाङ्कनपछि कायम भएको औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गरी उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आह्वान गर्ने पौडेको प्रतिवद्धतापत्रमा छ । जसमा बुटवल औद्योगिक क्षेत्रको क्षमता विस्तार र व्यवस्थापन सुधार गर्ने भनिएको छ।